चलचित्र ‘जात्रा’, ‘शत्रु गते’, ‘दाल भात तरकारी’ र ‘द सिक्रेट अफ राधा’मा प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेका चर्चित प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्माता युवराज कार्कीले ‘मनको बाँध’ घोषणा गरेका छन् । सोमवार उनले चलचित्रको शीर्षक पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेका हुन् ।
यो उनको ‘डेब्यु’ निर्देशन हो । चलचित्रलाई श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट र नटराज क्रियसनले संयुक्त रूपमा निर्माण गर्दैछ । यो चलचित्रको बारेमा अहिले केहिपनि खुलाइएको छैन ।
नेपाल चलचित्र प्राविधिक सङ्घका महासचिव समेत रहेका युवराज कार्की नेपाली चलचित्र क्षेत्रमा एक अनुभवी प्रोडक्सन डिजाइनरका रूपमा परिचित छन् ।
ग्रामीण जीवनका सङ्घर्ष, आर्थिक असमानता, वैवाहिक असमानता, सामाजिक अन्याय र हिंसाका विषयमा आधारित चलचित्रले महिलाको साहस र धैर्यताको कथालाई प्रभावशाली रूपमा चित्रण गर्ने जनाइएको छ ।
‘मनको बाँध’ नामले नेपाली चलचित्र इतिहासमा पनि ठुलो महत्त्व राख्छ । २०२८ सालमा तत्कालीन शाही नेपाल चलचित्र संस्थानले यसै नामको चलचित्र निर्माण गरी २०३० सालमा रिलिज गरेको थियो । प्रकाश थापाको निर्देशनमा बनेको उक्त चलचित्रमा सल्यान के.सी. र सुष्मा शाही मुख्य भूमिकामा थिए ।