‘होस्टेल ३’को ‘मनमा अनौठो’मा पारस र सिम्रनको रोमान्स
१८ माघ २०८१ १२:०३
फागुन २३ गतेबाट प्रदर्शन हुने चलचित्र ‘होस्टेल ३’को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । शुक्रवार बिहान सार्वजनिक गीतमा चलचित्रका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन् ।
गीतमा शब्द तथा सङ्गीत अर्जुन पोखरेलको रहेको छ भने रेश्मा पुन र उकेश रावलको स्वर रहेको छ । यसको भिडियोको कोरियोग्राफी प्रवीण सिंहले गरेका छन् । गीतले किशोर किशोरीको प्रेमलाई झल्काउँछ ।
चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । यसमा क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा रहेको छ । चलचित्रमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको यो चलचित्रका निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् ।
अर्जुन तिवारी डिओपी, विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन रहेको छ ।