आगामी फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने चलचित्र ‘लाज शरणम्’को रोचक टिजर सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक गरेको यो चलचित्रको टिजरले यसको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ ।
जेपीटी क्रिएसनले निर्माण गरेको यो चलचित्रको टिजर डोल्पाको एक युवक विदेश जाने तयारीमा रहेको कथासहित सुरु भएको छ । त्यस्तै, यो चलचित्रका सबै कलाकाहरु प्रस्तु भएको टिजरको केन्द्रमा सीताराम कट्टेल ‘धुर्मुस’ लाई देख्न सकिन्छ ।
नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने यो चलचित्रलाई कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेका हुन् । चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) लगायत मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, कमलमणि नेपाल, सीताराम कट्टेल ‘धुर्मुस’, रेणु योगी, विजय लामा, माला लिम्बुको पनि अभिनय छ ।
चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । चलचित्रलाई सुदीप बरालले छायांकन गरेका हुन् ।