आगामी माघ २५ गतेबाट रिलिज हुने बहुप्रतिक्षारत चलचित्र ‘जुना’को टिजर सार्वजनिक भएको छ । बाल बिबाहका कारण छोरीले पाउने दुख र पीडाको कथामा निर्माण भएको यो चलचित्रको टिजरमा सानो उमेरमै छोरीको बिहे गर्दा उसले पाउने दुख, पीडाको कथालाई प्रस्तुत गरिएको छ ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको चलचित्रका निर्माता दीपकप्रसाद घिमिरे हुन् । निर्माता घिमिरेले बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको बताए ।
चलचित्रका निर्देशक जीवन सेञ्चुरी हुन् । उनले यो चलचित्र एक ऐतिहासिक र विशिष्ट प्रकृतिको फिल्म रहेको बताए । ‘नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस चलचित्रको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ’, निर्देशक सेञ्चुरीले भने ।
चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा र खगेन्द्र न्यौपानेको अभिनय छ । चलचित्रमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ ।