आगामी फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। दर्शकको ध्यान केन्द्रित गर्ने यो चलचित्रको शुक्रबार नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ। विशेष रूपमा पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस)को गेटअप चर्चामा छ। नेताको भूमिकामा रहेका कट्टेललाई दोरा-सुरुवाल र ज्वारीकोटमा देखाइएको छ। उनी हात उठाएर अभिवादन गरिरहेका छन् ।
‘सक्किगोनि’ टिमले निर्माण गरेको यो चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायतका कलाकारले अभिनय गरेका छन्।
चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका छन्। यसका प्रमुख कलाकारहरूमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायत छन्।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । चलचित्रलाई सुदीप बरालले छायांकन गरेका हुन् ।