‘पहाड’मा वर्षाको ठाउँमा प्रियंकाको प्रवेश

१० माघ २०८१ ७:०६

निर्देशक तुलसी घिमिरेले निर्देशन गर्ने चलचित्र ‘पहाड’मा कलाकारको लाइनअप बलियो बनेको छ । यो चलचित्रमा नायिका प्रियंका कार्कीको प्रवेश भएसँगै कलाकारहरुको लाइनअप बलियो बनेको हो ।

निर्माणपक्षका अनुसार उनी वर्षा राउतको ठाउँमा प्रवेश गरेकी हुन् । यसअगाडि यो चलचित्रमा निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरे, मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, सुनील थापा, अरुण क्षेत्री अनुबन्धित भइसकेका छन् । यो चलचित्र पञ्चमी ‘डेब्यु’ हो ।

गोरखाबाट यो चलचित्रको अबको साताबाट छायांकन हुनेछ । चलचित्रले बढ्दो बसाइँ सराईले रित्तिँदै गएको पहाडी गाउँको कथा भन्नेछ । यसमा निर्देशक घिमिरे स्वयंको लेखन छ भने छायाँकारमा प्रमोद प्रधान छन् ।

यो चलचित्रमा ओजश्वी केसी निर्मातामा छन् भने रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह-निर्माताको रुपमा छन् । यो चलचित्रको क्रिएटिभ निर्देशकमा भारती घिमिरे छिन् । उनी निर्देशक घिमिरेकी श्रीमती हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *