दीपक प्रसाद आचार्य ‘काकु’ले निर्देशन गर्ने चलचित्र ‘परान’को औपचारिक घोषणा गरिएको छ । यो चलचित्रको बुधवार काठमाडौंमा एक कार्यक्रमका बिच औपचारिक घोषणा गरिएको ओ । चलचित्रले बाबु र छोरीको कथा भन्नेछ ।
देशकै प्रतिष्ठित व्यवसायीक घराना गोल्छा समूहका शेखर गोल्छा चलचित्र निर्माणमा प्रवेश गरेका छन् । नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रवीण खतिवडा, वुद्दि तामाङ, महेश त्रिपाठी, अन्जना बराइली, पूजा चन्द, सुभाष गजुरेल, यमन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहनेछ । आर्य दीप आचार्यले बाल कलाकारको रुपमा काम गर्नेछन् ।
शेखर गोल्छा तथा ‘प्रिज्मा एड्भटाजिङ’ प्रमुखको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको व्यानरमा निर्माण हुने यो चलचित्रको फागुनको पहिलो साताबाट छायांकन हुने बताइएको छ ।
नेपालीपन र संस्कृतिको समृद्धिका लागि चलचित्र निर्माण गर्न लागेको भन्दै निर्माता शेखर गोल्छाले भने–‘उद्योग बाणिज्य महासंघको अध्यक्षका हैसियतमा जिल्ला जिल्लामा हुने महोत्सवहरुमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रममा नेपालीपन नदेख्दा त्यस्ता कार्यक्रममा जानै नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । हामीले चलचित्र निर्माण गर्नुको पछाडि नेपालीपन र संस्कृतिको समृद्धिका लागि हो ।’
यो चलचित्रका निर्माता रञ्जित अधिकारीले सन् २०१९ मै चलचित्रमा आउने योजनासहित कम्पनी खडा गरेपनि कोभिडका कारण काम सुरु गर्न नसकेको बताए ।
यो चलचित्र घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, नायक राजेश हमाल, कलाकार हरिवंश आचार्य, कृष्ण मल्ल, अशोक शर्मा, निर्देशक दीपाश्री निरौला, नायिका निशा अधिकारी लगायतको उपस्थिति थियो । चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मित्र देव गुरुङको सम्पादन रहनेछ ।