किन चल्यो ‘महापुरुष’ ?

१३ कार्तिक २०७९ १५:३४

विजय सुवेदी ‘आवाज’

मलाई यो  कुरा यहाँ उल्लेख गर्न पाउँदा अत्यन्तै खुशी के लागेको छ भने, यो बर्षको ७ महिनामा ६ वटा नेपाली चलचित्र हिट भएका छन् । ‘कबड्डी ४’ ब्लकबस्टर साबित भएको छ । सात महिनामा सातौं सूचीमा चलचित्र ‘महापुरुष’ छ ।

अघिल्ला बर्षको तुलानामा यो बर्ष चलेका चलचित्रको तथ्यांक आफैमा धेरै हो । अझै, केही आशातित चलचित्र रिलिज हुन बाँकी रहेकाले बर्षको अन्त्यसम्म मैले तपाइलाई यो आँकडा अझै बढेको खुशी शेयर गर्न सक्छु होला ।

चलचित्र चलेको खुशीयालीमा दौडधुप गरिरहेका निर्देशक प्रदीप भट्टराई आज मात्रै मसँगको एक भिडियो अन्तरवार्तामा(हिट नेपालमा तपाइले सोमबार हेर्न सक्नुहुनेछ) नाँचेका छन् । निर्देशकको यो खुशी साच्चिकै चलचित्र क्षेत्रको बर्तमान अवस्था र दर्शकले दिएको मायाले एउटा चलचित्रकर्मीको मनोभाव कस्तो हुन्छ भनेर बताउन सफल छ ।

निर्देशक भट्टराइले मसँगको कुराकानीमा चलचित्र ‘महापुरुष’ चल्नुको कुनै औषधी बताएनन् । बरु, उनले आफूले सधै नै इमान्दार भएर चलचित्र बनाउने गरेको बताए । मैले, यहाँ लेख्न खोजेको बिषयवस्तुको मुख्य सार पनि यही हो कि, मेकर जहिले पनि इमान्दार हुनुपर्छ ।

यसो भन्दै गर्दा ‘महापुरुष’ किन चल्यो भनेर केही बुँदाहरु यहाँ उल्लेख गर्न उपयुक्त हुनसक्छ ।

आइतबार प्रिमियरको दिन चलचित्र हेरेका एक हजार मानिसमध्ये म पनि एक थिएँ, जसले चलचित्र ब्लकबस्टर हुन्छ भन्दै निर्देशकसँग अंकमाल गरेको थिएँ । प्रदीपको मन बेचैनीले भरिएको थियो । बिहिबार बेलुकासम्म पनि उनी चलचित्र चल्छ कि चल्दैन होला भन्ने पिरले निदाउन सकेका थिएनन् । रातीको १० बजे मैले उनलाई फेसबुकमा म्यासेज गर्दै, चलचित्रले आक्रामक ओपनिङ गर्छ, सुत्नुहोस् भनेको थिएँ । मसँगको भिडियो अन्तरवार्तामा निर्देशकले यो कुरा पनि संझिएका छन्, जसका लागि उनलाई धन्यवाद ।

शनिबार बेलुकी चलचित्र दोश्रो पटक टिकट काटेर हेर्दै गर्दा मैले हाउसफूल हलमा आधा भन्दा बढी ४० कटेका पाका मानिसहरु देखेको थिएँ । ती अधिकांश मानिसहरु नेपाली चलचित्रका नियमित दर्शक होइनन् । हलमा आधा मानिस पाका थिएँ भने आधा तन्नेरी । रमाइलो कुरा त के थियो भने, तन्नेरीहरु आफ्ना प्रेमी–प्रेमिकासँग नभएर बाबु, आमा, हजुरबुबा, हजुरआमा, सासु, ससुरा, श्रीमतीको साथमा हल पुगेका थिए । ‘महापुरुष’ किन चल्यो भनेर सोच्दै गर्दा पहिलो कारण यही नै छ ।

‘महापुरुष’को कथा यूनिभर्सल कथा हो । अझ, यो कथा जुनसुकै देशमा गएर भन्नुहोस्, चल्छ । किनकी, बुढेसकाल लाग्दै गर्दा मानिसले आफूलाई एक्लो महशुश गर्न थाल्छ । बुढेसकाल लाग्दै गर्दा मानिसले आफ्नो मनका कुरा उकुसमुकस बनाए राख्न थाल्छ । बाहिर बोल्न ठाउँ हुँदैन, बोल्दा बेइज्जत होला कि, छोराछोरीलाई असर गर्ला कि भन्ने भयमा मानिस थला पर्छ । चलचित्रले यही कथा भन्छ । यही कथा जसले हरेक घरका समस्यालाई टपक्कै टिपेको छ । यस्तो कथा, जसलाई धेरैले मन भित्र गुम्साएका छन् बाहिर पोख्न सकेका छैनन् । प्रदीप र उनको टिमले यही कथा भनेको हो ।

‘महापुरुष’ चल्नुको अर्को कारण विश्वास हो । निर्देशक प्रदीप भट्टराई र उनको टिममाथिको विश्वास । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जस्ता कलाकारमाथि आम दर्शकले गर्ने विश्वास । यही विश्वासले चलचित्रलाई बक्स अफिसमा सफल बनायो ।

‘महापुरुष’ चल्नुको अर्को कारण, यो चलचित्रको टिमले इमान्दार भएर कथा भनेको छ । कथामा छलछाम छैन । राजाराम पौडेलको कमेडी बनाबटी लाग्दैन । हरिवंश आचार्य जस्ता कमेडीका महारथीले कही कतै पनि हसाँउनलाई जर्बजस्ती काउकुती लगाएका छैनन् । यही इमान्दारिताले प्रयास गरेका कारण दर्शकले यो चलचित्र रुचाएका छन् ।

चलचित्र दर्शकको वर्ड अफ माउथका कारण चल्यो भनेर त भन्नै परेन । माथिका सबै कारण भएपछि चलचित्रको वर्ड अफ माउथ बलियो हुने कुरामा त शंका नै भएन ।

छोराछोरीको पीडा वुझ्दा वुझ्दा आफ्ना हजारौ सपना र इच्छाहरु दबाएर बसेका बाबु–आमाको चाहना के छ भनेर वुझ्न छोराछोरीलाई चलचित्रले झसंग बनाइदिएको छ । आजको पुस्ताले निक्कै नै सहज ठानेको यो बिषयलाई एकपटक सोच्न पर्ने बनाइदिएका छन्, प्रदीपले । चलचित्र चल्नुको एक कारण यो पनि हो ।

‘महापुरुष’ राम्रै राम्रा पक्षहरुले भरिएको चलचित्र होइन । चलचित्र भित्र केही कमजोरी पक्कै छन् । क्लाइमेक्समा गरिएको नाटकीय अपहरणले चलचित्रको बहावलाई भत्काएको छ । तर, हजारौ राम्रा कुराको अघि एक दुइवटा कमजोरी खासै वास्ता नहुने रहेछ ।

अरुण क्षेत्री जस्ता नयाँ नायकले, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ जस्ता महारथीहरुको अगाडि शिर उठाएर अभिनय गर्ने हिम्मत गरेका छन् । प्रदीप भट्टराइले १६ बर्षसम्म मह जोडीबाट सिकेका कुराहरु, आज उनीहरुलाई गुरु दक्षिणाको रुपमा फिर्ता गर्दैछन् ।

‘महापुरुष’ एउटा चलचित्र मात्र होइन, एउटा क्रान्ती पनि हो । यो क्रान्तीलाई आज हरेक घरका मानिसहरुले आत्मसाथ गरेका छन् । ‘महापुरुष’ चल्नुका धेरै कारण छन् । यही धेरै कारणका कारण चलचित्र लामो रेशको घोडा बन्ने लाइनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *