‘माग्ने राजा’ टिजर : पैसा पाएपछि गर्ने ऐस-आरामको कथा
१६ असार २०८२ ११:२९
आगामी भदौ ६ गतेबाट प्रदर्शन हुने प्रतिक्षित चलचित्र ‘माग्ने राजा’को टिजर सार्वजनिक गरिएको छ। कलाकार केदार प्रसाद घिमिरे अर्थात (माग्ने बुढा)को मुख्य भूमिका रहेको यो चलचित्रको टिजर सोमबार सार्वजनिक गरिएको हो।
सार्वजनिक टिजर केदार प्रसाद घिमिरेको ओरिपरि घुमेको छ। दुई मिनेट लामो यो चलचित्रको टिजरमा विल्सन बिक्रम राई र अभिनेत्री वर्षा शिवाकोटी पनि प्रस्तुत छन्। तर, वर्षालाई जम्मा एक दृश्यमा मात्र सिमित छिन्।
ऋषि लामिछानेले निर्देशन गरेको यो चलचित्रको टिजरमा ‘माग्ने राजा’को शैलीमा कलाकार घिमिरेलाई पहेँलो पहिरन सहितको अवतारमा सेतो घोडामा चढेर गाउलेलाई पैसाको बिटो बाढेको देख्न सकिन्छ । जसले गर्दा, यो चलचित्रले एक गरिब व्यक्तिको धनी बन्ने सपना र संघर्षको कथा भन्ने प्रस्ट हुन्छ ।
हास्य, सामाजिक सन्देश, र प्रेरणा मिसिएको यो चलचित्रको टिजरमा कलाकार घिमिरेले आफूलाई ज्योतिषले राज योग रहेको बताउदै राजा बनेको सपना देख्छन्। त्यसपछि उनी श्रीपेच खोज्न काठमाडौं जान्छन् र श्रीपेच लगाएर बाइक चलाउछन् । टिजरमा उनी पैसामाथि सुतेकोदेखि युवतीहरुसँग मस्ती गरेको दृश्य देख्न सकिन्छ ।
टिजर निकै रमाइलो छ । जसका कारण, यो चलचित्रको टिजरले चलचित्रप्रति दर्शकको चासो बढाउने निश्चित छ। मुनाल घिमिरेले निर्माण गरेको यो चलचित्रको कथा–पटकथा सामीप्य तिमल्सिनाले लेखेका हुन्।
आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरे प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको यो चलचित्रमा शिशिर वाङ्देल, शारदा गिरी, राधिका कँडेल, पवित्रा साकी (मिस पवी) लगायतको पनि अभिनय छ । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र मित्र गुरुङको सम्पादन रहेको छ ।