‘रियाल रिङ्गेट’को मर्मस्पर्शी गीत ‘जिन्दगी’ सार्वजनिक
११ असार २०८२ ५:१०
आगामी श्रावण १६ गते प्रदर्शनमा आउने चलचित्र ‘रियाल रिङ्गेट’को ओएसटी गीत ‘जिन्दगी: उडी जाने हो कहाँ’ सार्वजनिक गरिएको छ। मङ्गलवार काठमाडौंयाँ एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।
रवि मल्ल र कोसिस क्षेत्रीको संयुक्त रचनामा चन्दन ध्वज केसी र किरण तुलाधरले सङ्गीत दिएको यो गीतमा केतन क्षेत्रीको सुमधुर स्वर, किरण तुलाधरले एरेन्ज गरेका छन् । गीतले विदेशमा नेपालीले भोग्ने सङ्घर्ष, उनीहरूको घरपरिवारको विचलित अवस्था र बाध्यताले विदेसिनुपर्दाको पीडालाई प्रस्तुत गरेको छ ।
रेबेल फिल्मसद्वारा निर्मित यस चलचित्रको गीतले वैदेशिक रोजगारीमा होमिन बाध्य नेपालीहरूको मार्मिक कथा समेटेको छ ।
यो चलचित्रका निर्देशक विभोर पोखरेल हुन्। यो चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
प्रदीप भारद्वाजले चलचित्रको लेखन गरेका हुन् । चलचित्रको नाम ‘रियाल रिङ्गेट’ कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको मुद्रा ‘रिङ्गेट’ को मिश्रणबाट बनेको छ, जसले नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकहरूलाई सङ्केत गर्दछ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।
भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायाङ्कन गरिएको यो चलचित्रलाई काफिया फिल्म्सले वितरण गर्दैछ ।