‘प्रकाश’मा रुचाइए प्रदीप, के जुम्लाको कथा काठमाडौंले महशुश गर्ला ?

८ भदौ २०७९ १७:४८

जनयुद्धमा लागेपछि घर नफर्किएको श्रीमान् फर्किने आशमा छिन् दिया मास्के अर्थात सिता रोकाय । छोरालाई अरुको खेती गरेरै भएपनि उनले राम्रो शिक्षा दिइन् । छोरा सरकारी स्कुलको शिक्षक बनेर आफ्नो र आमाको सपना मात्र होइन जीवन पनि सुधार्न चाहन्छ ।

तर, राजनीतिक परिवर्तनपछि गाउँमा छिरेको लोकतन्त्रलाई उनीहरुले महशुश गर्न नै पाउँदैनन् । एक राजा फाल्दा हजारौ राजा जन्मिएको भन्ने तर्क जुम्लाको विकट गाउँमा पनि लागू छ । स्कुलको शिक्षक बन्नका लागि प्रदीप खड्का अर्थात ‘प्रकाश’ले झेलेका विभिन्न समस्या र निराशाको कथा हो दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’ २ घन्टा ७ मिनेट लामो कथाले आजको अवस्था र भोलीको बिद्रोहलाई देखाएको छ । एउटा बिद्रोह सेलाउन नपाउँदै गाउँ गाउँमा ‘प्रकाश’ जस्ता प्रतिभा भएर पनि राजनीतिक दाउपेचका कारण थिचिएका पात्रहरुले बिद्रोह गर्न सक्ने संकेत समेत चलचित्रले गरेको छ ।

विकास सुवेदीको लेखनमा तयार भएको चलचित्रको प्रिमियरमा अधिकांशले यसको प्रस्तुति, कलाकारको अभिनय र सन्देशलाई रुचाए ।

दिनेश राउतका हरेक चलचित्रमा जस्तै यसमा पनि ढिलो बग्ने कथाको समस्या भने छ । दिनेशले भन्न खोजेको कथालाई सुस्त तरिकाले देखाउँदा दर्शक त्यसमा जोडिदै नजान पनि सक्छन् । तर, चलचित्रको क्लाइमेक्सले एउटा बलियो सन्देश भने छाडेको छ ।

प्रदीप खड्का अभिनयमा उम्दा देखिएका छन् । लभरब्वाईबाट परिवर्तीत भएका यी नायकले आफूलाई आगामी दिनमा हिरो भर्सेस कलाकारको दौडमा लिएर एकसाथ लिएर जानुपर्नेछ । प्रदीप खड्काले शिर्ष भूमिकालाई निर्वाहा गर्न सम्पूर्ण कोशिश खर्चिएका छन् । दिया मास्केको अभिनयले यसमा पनि मन जित्छ । यो चलचित्रलाई एउटा हातले प्रदीपले बोकेका छन् भने अर्को हातले दियाले बोकेकी छिन् ।

दिनेश राउत भन्न खोजेको कथामा स्पष्ट छन् । उनलाई चलचित्रको बक्स अफिसको अंकगणीतमा खासै ध्यान गएको छ भन्ने देखिदैन । विकास सुवेदीले जुम्लाको सेटिङलाई काठमाडौंदेखि विश्वमा भन्न खोजेका छन् । सिंहदरबारले यो कथालाई अझै सुन्नुपर्छ ।

काठमाडौंले जुम्लाको यो समस्या कमै मात्र भोगेको छ । राजनीतिक खिचातानीलाई नजिकबाट वुझेको काठमाडौंलाई यी कुरासँग खासै मतलब छैन । दैनिक जीवन जिउनका लागि काठमाडौंले जुम्लाका ‘प्रकाश’ जस्ता पात्रहरुले गोल्डस्टार जुत्ता खियाएको महशुश कमै मात्र गरेको होला । यसैले, जुम्लाको कथाले काठमाडौंलाई छुन्छ या छुदैन भन्ने एउटा प्रश्न भने छ ।

चलचित्रको विस्तृत समीक्षा हामी अर्को लेखमा गर्नेछौं । ‘प्रकाश’ १० बर्ष परिवर्तनका लागि लडेर केही सिमित व्यक्तिको मात्र जीवनशैली परिवर्तन भएको समाज र नेतृत्वको लागि गतिलो झापड भने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *