‘महाभोज’को बुकिङ ओपन

२९ जेठ २०८२ १०:४६

विकास सुवेदीको लेखेको तथा दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘महाभोज’को अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् । यो चलचित्र दुई साता अघि नै रिलिज तय भएकोमा विभिन्न राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर जेठ ३० गते पुगेको थियो ।

चलचित्रले प्रारम्भिक चरणमा करिब २ सय शो प्राप्त गरेको वितरकहरूले बताएका छन् । यस चलचित्रको काठमाडौं, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ । प्रिमियरबाट चलचित्रले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । प्रिभ्यु शो हरूमा केही सहकारी पीडितहरूले पनि चलचित्र हेरेका छन् । उनीहरूले आफ्नो दबिन लागेको आवाजलाई यो चलचित्रले ठुलो स्वरमा बोलिदिएको प्रतिक्रिया दिएका छन् । उनीहरूले यो चलचित्र धेरै भन्दा धेरै दर्शकले हेरेर राज्यलाई थप दबाब दिनुपर्ने बताइरहेका छन् ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल लगायतको अभिनय रहेको छ । विशेष भूमिकामा सुरक्षा पन्त पनि रहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *