माइकल चन्दको डेब्यू निर्देशनमा बन्न लागेको चलचित्र ‘राम नाम सत्य’मा नायिका सुपुष्पा भट्ट फाइनल भएकी छिन् । सुपुष्पासँग आज चलचित्रको टिमले कागजी संझौता गरेको हो ।
एक्सन, लभ र सस्पेन्स कथामा निर्माण हुने यो चलचित्रमा सुपुष्पालाई एक महत्वपूर्ण भूमिकाका लागि अनुवन्धित गरिएको निर्माणपक्षले बताएको छ । सुपुष्पाको पछिल्लो रिलिज चलचित्र ‘फेरि रेशम फिलिली’ हो । यो चलचित्रमा सुपुष्पाको कामको निकै तारिफ भएको थियो ।
सुपुष्पाले आफ्नो भूमिका चित्तवुझ्दो रहेपछि चलचित्र साइन गरेको बताइन् । यो चलचित्रमा यसअघि नायिका दिव्या रायमाझी पनि अनुवन्धित भइसकेकी छिन् ।
सुपुष्पा साइन गरेपछि निर्देशक चन्दले भने–‘हामीलाई सुपुष्पा जस्तै हाइट भएकी नायिका चाहिएको थियो । उहाँको अभिनय पनि अब्बल छ । कथाले मागे अनुसार नै फिट भएपछि हामीले उहाँलाई अनुवन्धित गरेका हौं ।’ चलचित्रमा विराज भट्ट, सुशिल श्रेष्ठ मुख्य भूमिकामा फाइनल भइसकेका छन् ।
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । चलचित्रको छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । यो चलचित्रलाई सुसन प्रजापतिले खिच्नेछन् ।