अभिनेताद्वय दयाहाङ राई र विजय बराललाई लिएर चलचित्र ‘वरिष्ठ बलराम’को अफिसियल घोषणा गरिएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर चलचित्रको सोमबार औपचारिक घोषणा भएको हो ।
यो चलचित्रलाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । सुरेन्द्र नेपाली चलचित्र क्षेत्रका कुशल सम्पादक हुन् । यो उनको चौथो निर्देशकीय चलचित्र हुनेछ ।
चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् भने छायांकन आगामी फागुनको पहिलो साताबाट सुरु गर्ने तयारी गरिएको छ। सामाजिक कथावस्तुमा आधारित यो चलचित्र २०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। हालसम्म दयाहाङ र विजय मात्र फाइनल भएका छन् भने दयाहाङको अपोजिटमा रहने नायिकाको नाम भने निर्माणपक्षले खुलाएको छैन। अन्य कलाकारको चयन तथा प्राविधिक टोलीबारे निर्माण पक्षले क्रमशः जानकारी दिने बताएको छ।
केही दिनमै सार्वजनिक गरिने टिजरमार्फत थप कलाकारको नाम सार्वजनिक गर्ने योजना निर्माण टिमको छ। चलचित्रको छायांकन तराईका विभिन्न स्थानमा गरिनेछ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई लिएर दर्शकमाझ उच्च अपेक्षा रहेको छ भने सामाजिक कथावस्तुले दर्शकलाई सन्देशमूलक मनोरञ्जन दिने निर्माण पक्षको विश्वास छ।