यही वर्षको अन्त्यतिर रिलिजमा आउने भनिएको फिल्म ‘मालती मङ्गले’को छायांकन अन्तिम चरणमा पुगेको छ ।
यसैबिच, फिल्मको ‘ढुंगा माथि लेउ’को बोलको गीतको छायांकन जर्सिङ पौवामा गरिएको छ । एसडी योगीतको संगीत रहेको यो गीतमा रामकृष्ण ढकाल र ऋतिका श्रेष्ठको स्वर, हर्क साउदको शब्द छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु विजय बराल र वर्षा राउत रोमान्टिक देखिएका छन् । दुवै जना क्लासिक बलिउड लुकमा देखिएका छन् ।
रोशन बिकले भिडियोको कोरियोग्राफी गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको यो गीतलाई जर्सिङ पौवा र इन्द्रावतीमा गरिनेछ । यो गीतपछि अर्को एक गीतको छायांकन सकेपछि फिल्मको सम्पूर्ण छायांकन सकिने निर्माणपक्षले बताएको छ । रानी म्युजिक इन्टरनेशनल प्रा.लिको व्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता रामकृष्ण ढकाल हुन् ।

फिल्ममा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्यमावती गुरुङ र स्विकृती बस्नेतको सह–लगानी छ । प्रकु पाण्डेको निर्देशनमा तयार भइरहेको फिल्ममा कथा उनकै छ । संयोग गुरागाँईको फिल्ममा पटकथा तथा संवाद छ । फिल्ममा मेक्सम गौडेल, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुष्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह लगायतका कलाकारहरुको पनि अभिनय छ ।