नेपा इभेन्ट्सद्वारा ‘नेपाली न्यू इयर इभ इडिसन’ आयोजनाको तयारी

२४ चैत २०८२ ८:५२

देश नयाँ वर्ष २०८३ को स्वागतको तयारीमा जुटिरहेका बेला, इभेन्ट व्यवस्थापनमा विश्वास जित्दै आएको नेपा इभेन्ट्स ले विशेष सांगीतिक कार्यक्रम ‘नेपाली न्यू इयर इभ इडिसन’ आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम चैत ३०, २०८२ मा लैनचौरस्थित मल्ला होटलमा आयोजना हुने आयोजकले जनाएको छ। समकालीन संगीत र परम्परागत लोक–फ्युजनको संयोजन प्रस्तुत गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यस कार्यक्रममा राजधानीका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। बेलुकी ४ बजेबाट गेट खुला हुने बताइएको छ ।

कार्यक्रममा कुमा सागर एन्ड द ख्वापा, लामो समयपछि पुनः प्रस्तुति दिन लागेको चर्चित ब्यान्ड द श्याडोज नेपाल, तथा मुख्य आकर्षणका रूपमा जोन एन्ड द लोकल्स को प्रस्तुति रहनेछ। आयोजकका अनुसार, यो कार्यक्रमले विगतको संगीत यात्रा र नयाँ पुस्ताको ऊर्जा बीचको सेतु निर्माण गर्ने उद्देश्य लिएको छ। “कुमा सागरले उपत्यकाको मौलिकता, द श्याडोजले युवावस्थाका सम्झनाहरू, र जोन एन्ड द लोकल्सले नयाँ पुस्ताको ऊर्जा प्रस्तुत गर्नेछन्,” आयोजकले जनाएको छ। पछिल्लो समय नेपा इभेन्ट्सले लगातार सफल कार्यक्रमहरू आयोजना गर्दै आएको छ।

नयाँ वर्षको अवसरमा आयोजना गरिएको यसअघि का इभेन्टहरू तथा पाटन फेस्ट जस्ता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको कम्पनीले दर्शकहरूको उच्च विश्वास जित्न सफल भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) दीपेश महार्जन ले आगामी दिनमा पनि दर्शकको अपेक्षाअनुसार उत्कृष्ट कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *