जेनाजी पुस्ताले गरेको आन्दोलनलाई सपोर्ट गरेको भन्दै कलाकार दीपकराज गिरिलाई धम्की आउँ थालेको छ। उनको शुक्रबार फेसबुकमा एक पोस्ट गर्दै सो कुरा बताएका हुन्।
गिरि आफ्नो फेसबुकमा लेख्छन्, ‘अस्तिको दिनबाट केही मानिसहरले मलाई पनि धम्काउन थालेका छन् । केहीले फेसबुकबाट त केहीले कल नै गरेर । ती कलहरु मध्ये केहीको त मैले रेकर्ड पनि राखेको छु । आन्दोलनको पहिलो दिन भ्रष्टाचार विरुद्दको आन्दोलनलाई धेरै कलाकार लगायत मैले पनि शुभकामना दिदै भने यो शान्तिपुर्ण होस् । दोस्रो दिन जब स्कूल, कलेज जाने साना साना बालकहरुको टाउकोमा गोली लागेर ढलेको तस्वीर देखियो, त्यो देखेपछि को नै चुप लागेर बस्न सक्यो होला र ? भोलि पल्ट म मात्रै होइन, मेरो लगभग सबै कलाकार साथीहरुले स्टाटस लेख्यौं ।’
दीपक अगाडि लेख्छन्–‘प्रधानमन्त्रीको राजीनामा आएपनि पनि नरोकिएको त्यो बबन्डर विरुद्ध हामीले लगातार सामाजिक संजालमा पोष्ट गर्न थाल्यौं । जेन जी आन्दोलन सफल त भयो, तर विध्वंसले कोहि खुशी भएनन्, मन भारी भैरह्यो । सायद कोही पनि नेपाली निदाएनन् होला त्यो रात । यसमा सबै पक्षको केहि न केहि गल्ती भएको छ, तर सरकार पक्षिय भनेका केही मानिसहरु यसको आडमा आफ्नो गल्ति महशुश गर्न छाडेर एक एक लाई छोडिने छैन, बदला लिइनेछ भनेर स्टाटस ठोक्न थालेको देखेँ, मलाई आएको कलको र म्यासेजको कुरा त गरिहाले ।’
दीपकले जेन जी आन्दोलनमा पनि सबै दोषि मात्रै दन्डित नभएको भन्दै कति निर्दोष मान्छेहरु पनि प्रभावित भएको बताएका छन् । उनले, अब यो सूचिमा आफू्र पनि थपिएको खण्डमा चित्त वुझाउनु बाहेक अरु विकल्प नभएको उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘होइन भने यहाँबाट सबैले आ–आफ्नो गल्ति महशूश गरेर क्रान्ति प्रतिक्रान्ति र बदलाका कुरा छोडेर एकजूट भई पुन? मुलुक निर्माणको बारेमा सोच्नु पर्ने हो कि ? जय आमा नेपाल ।’