गत साउनको २३ गतेबाट प्रदर्शन भइरहेको चलचित्र ‘मोहर’ले बक्स अफिसमा सुखद कमाई गर्यो । वर्षकै दोस्रो हिट चलचित्रको सूचीमा यो चलचित्रको नाम छ।
त्यत्सै, यो चलचित्र रिलिज भएको एक महिनापछि दर्शकहरुका लागि ‘सुनको मोहर’ जित्ने अवसर यसको निर्माणपक्षले ल्याएको छ । देशका ४ वटा हलमध्ये चितवनको ‘म्याङ्गो जन ज्योती सिनेमा’, समाखुशीको ‘क्यूएफएक्स स्क्वायर मल’, कीर्तिपुरको ‘कीर्तिपुर सिनेप्लेक्स’ र न्युरोडको ‘रञ्जना सिनेप्लेक्स’मा चलचित्र हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् ।
म्याङ्गोमा चलचित्र हेर्ने मध्ये ३ जना, सिटी स्क्वायरमा हेरेका मध्ये २ जना, कीर्तिपुर सिनेप्लेक्सबाट २ जना र रञ्जना सिनेप्लेक्सबाट २ जनाले यो पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
दर्शकले फिल्मको टिकटको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर हलमा राखिएको बक्समा आफ्नो टिकट खसाल्नुपर्नेछ । जसमध्ये, भदौको २३ गतेबाट असोजको ११ गतेसम्म चलचित्र हेर्ने दर्शकमध्ये ९ जनाले यो पुरस्कार जित्न सक्नेछन् ।
त्यस्तै, भदौ २३ गते भन्दा अगाडि चलचित्र हेरेका दर्शकले पनि आफ्नो टिकट सुरक्षित राखेको भए यो उपहार योजनामा सहभागी हुन पाउने निर्माणपक्षको भनाई छ । विजेताहरूलाई चलचित्रको ५१ दिने कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिने निर्माणपक्षले बताएको छ ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा चुम्बन जंग शाहीले निर्माण गरेको यो चलचित्रले बक्स अफिसमा ५ करोड माथिको व्यापार गरिसकेको छ ।
फिल्म मेकर्स प्रा.लिले यो फिल्म निर्माण गरेको चलचित्रमा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, रविन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरूको अभिनय छ ।