आगामी कार्तिक २८ गते नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने चलचित्र ‘धागो ‘को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ। गीतमा गायक पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर, शब्द र सङ्गीत पनि पुष्पन प्रधानकै रहेको छ।
भिडियोमा बुद्धि तामाङ, अभिनेत्री वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा र सुरभि थापा लगायतका कलाकारहरू देखिएका छन्। कोरियोग्राफी भने चर्चित नृत्य निर्देशक कविराज गहतराजले गरेका हुन्। गीत सार्वजनिकसँगै चलचित्रप्रति दर्शकको चासो झन् बढ्ने अपेक्षा निर्माण पक्षले जनाएको छ।
निर्देशक उदिप राना निर्देशित यो चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेको छ।
चलचित्रमा सुरक्षा पन्तसँगै भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिनेछन्। साथै, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। अभिनेत्री वर्षा राउतले भने केमियो भूमिका निर्वाह गरेकी छन्।
फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको चलचित्रका छायाङ्कन निर्देशक बलिउडका अनिकेर एम. घोघले हुन्। अखिलेश रायको सम्पादन रहेको चलचित्रको निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन् भने सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री छन्। जसमा, सुपरभाइजिङ प्रोड्युसर वहिद एम. मुन्सुरी र उदय थापा रहेका छन्। ‘धागो’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। नेपालमा यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ।