निर्देशक कृषा चौलागाईंको कथा तथा निर्देशन रहने चलचित्र ‘पारस’को शीर्ष भूमिकामा नायक अनमोल केसीले काम गर्ने भएका छन्। निर्देशक कृषाले बुधबार आफ्नो जन्मदिनको अवसरमा यो चलचित्र निर्माणको घोषणा गरिसकेकी छिन्।
कृषाले चलचित्र निर्माणको घोषणा गरेको भएपनि कलाकारहरुको नाम भने गोप्य नै राखेकी थिइन्। तर, बुझिएअनुसार, यो चलचित्रको प्रमुख भूमिकामा अनमोलले काम गर्ने पक्का भइसकेको छ। किनकि, अनमोलले नै कृषालाई ‘पारस’ नाममा चलचित्र बनाउन सिफारिस गरेका थिए।
निर्देशक कृषाले ‘पिताम्बर २’ वा ‘जहाजैमा’मध्ये कुनै एकमा अनमोलसँग सहकार्यको प्रस्ताव राखेकी थिइन् । तर, अनमोलले यी दुवै प्रोजेक्ट नकार्दै ‘पारस’ नाममा चलचित्र बनाउन सुझाव दिएका थिए । अनमोल आफैले चलचित्रको नाम सिफारिस गरेपछि कृषाले तुरून्तै बोर्डमा दर्ता गर्दै निर्माण इजाजत लिएकी थिइन् ।
अनमोलले यो चलचित्रको कथा पनि निकै रुचाएका छन्। निर्देशक कृषा र अनमोलले यहि भदौ महिनामा सम्झौता गर्ने बुझिएको छ। यो चलचित्रको लागि अनमोललाई ७० लाखमाथि पारिश्रमिक लिने पनि बुझिएको छ।
आगामी फागुनबाट छायांकन सुरू हुने यो चलचित्रको यतिबेला स्क्रिप्टको काम भइरहेको छ । सचिन लदियाको लेखन रहेको चलचित्रमा विशाल चौलागाईँको लगानी रहनेछ ।