भदौ २७ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक भएको छ । टाइटल ट्रयाकमा र्यापर भियोमाको शब्द, संगीत र स्वर छ ।
जिन्दगी नै रहस्मयी रहेको बताउने र्यापले पैसाले मान्छेको असली चरित्र देखाउने प्रष्ट पार्ने प्रयास गरेको छ । र्यापमा पैसामा माया साट्ने र पैसाकै कारण सम्बन्धहरू टुट्ने गरेको यथार्थ चित्रण गरिएको छ ।
चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने निर्माणपक्षले बताएको छ । यही कथा टाइटल ट्रयाकमा छ । भिडियोमा र्यापर भियोमा आफैँ फिचर्ड छन् ।
सेभेन सिज सिनेमाको प्रस्तुति र सुशान्त गौतमले निर्देशन गरेको चलचित्रमा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।
मुकेश खनालको लेखन रहेको चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ, मदन घिमिरे सम्पादन, शरद महतोको डिओपी रहेको छ ।