आगामी असोज १३ गते फुलपातीबाट प्रदर्शनमा आउने चलचित्र ‘हरिबहादुरको जुत्ता’ टिम आक्रामक प्रचारप्रसारमा जुटेको छ । टिमले देशभर चलचित्रको होडिङ बोर्ड, स्ट्यान्डी, स्टिकर, पोस्टर र कटआउट राख्दै फिल्मको प्रचार थालेको हो ।
काठमाडौँ उपत्यकासहित कास्की, चितवन, रुपन्देही, नेपालगन्ज, मकवानपुर, जनकपुर, मोरङ, झापा, सुनसरीसहित सर्वसाधारणको भिड हुने स्थानहरुमा चलचित्रको जानकारीमुलक सामाग्री राखिएको छ। काठमाडौँ उपत्यकामा मात्रै २७ वटा र पोखरामा मात्रै ८ वटा बस बिसौनीमा बोर्ड राखिएको छ । अन्य देशभरका करिब ३ सय बस बिसौनीमा स्टिकर टाँसिएको छ ।
यो चलचित्रका निर्माता सरोज ओलीका अनुसार ‘टिभी सिरियलमा निकै रुचाइएको हरिबहादुर पात्र अब चलचित्रमा थप रुपान्तरणसहित सस्पेन्स र मनोरञ्जनात्मक कथा बोकेर ठूलो पर्दामा आउँदैछ भन्ने जानकारी दर्शकलाई होस् भनेर हामीले देशभर यस्तो प्रचार शैली अपनाएका हौ।’ उनले भने ।
चलचित्रको टिजर गत सातामात्रै सार्वजनिक थियो। चलचित्रलाई निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्। चलचित्रमा हरिवंश आचार्यसहित, प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय पनि समावेश छ।