‘रिहाना’ बुसान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने

१६ भदौ २०८२ ६:०७

नेपाली लघु चलचित्र ‘रिहाना’ले दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ। यस वर्षको यस प्रतिष्ठित फिल्म महोत्सवमा ‘रिहाना’ एक मात्र नेपाली प्रतिनिधित्व हो।

फेस्टिभलले जारी गरेको सूचनाअनुसार, फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ। यस पटक महोत्सवका लागि ३,०५९ वटा चलचित्र पेस भएका थिए, जसमध्ये उत्कृष्ट १० मा ‘रिहाना’ पर्न सफल भएको हो।

चलचित्रका निर्माता केदार भुसालले यस उपलब्धिले नेपाली कथाहरूलाई विश्वसामु पुर्‍याउने प्रयासलाई निरन्तरता दिएको बताएका छन्। उनले भने, ‘नेपालका फरक–फरक कथाहरूलाई फरक विधामा प्रस्तुत गर्दै विश्वभर पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छौँ। ‘रिहाना’को बुसान छनोटले मलाई अझ ठुलो हौसला र प्रेरणा दिएको छ।’

चलचित्रलाई ‘अ दुम्सी पिक्चर्स प्रोडक्सनले निर्माण गरेको हो, जसमा मिराज मोशन पिक्चर्स, अन्डरग्राउन्ड टकिज र पिक्चर फ्रेमको सहकार्य रहेको छ। चलचित्रको लेखन तथा निर्देशन सुरज पौडेलले गरेका हुन्। यसमा पृथु भट्ट र सृजना अधिकारीको मुख्य भूमिका छ। चलचित्रलाई उज्ज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसालले मिलेर निर्माण गरेका हुन् भने रोशनी अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छन्।

शिशिर विशंखेको छायाङ्कन रहेको चलचित्रको सम्पादन गौरव कुमार मुल्लिकले गरेका हुन्। चलचित्रको सह–लेखन शैलेश आरसी (एलएसएम)ले गरेका छन्।

यस महोत्सवमा छनोट हुनु कुनै पनि देश वा चलचित्र निर्माताका लागि ठुलो उपलब्धि मानिन्छ। ‘रिहाना’ को यो सहभागिताले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा नेपालको उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *