‘सोल्टिनी’को नयाँ रिलिज मिति घोषणा, कार्तिक ६ मा आउने

१४ भदौ २०८२ ७:५३

प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर चलचित्र ‘सोल्टिनी’को नयाँ रिलिज मिति घोषणा गरिएको छ। एकसाथ पाँच पोस्टर सार्वजनिक गर्दै यो चलचित्र अब कार्तिक ६ गते भाइटिकाको दिन प्रदर्शनमा आउने भएको हो ।

अर्जुन सुवेदीले निर्देशन गरेको यो चलचित्रको चार वटा फरक-फरक पोस्टरहरूले यसको कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको जनाउँछन्। एक पोस्टरमा नायक-नायिकाको रोमान्टिक केमेस्ट्रीलाई विशेष रूपमा प्रस्तुत गरिएको छ। एक पोस्टरमा नायिका परीक्षा लिम्बु परम्परागत भेसभुसा र गहनामा सजिएकी देखिन्छिन्। अर्को एक पोस्टरमा ग्रामीण परिवेशमा पुल पार गर्दै हाँसिरहेका नायक-नायिका देखिन्छन्। प्राकृतिक सौन्दर्य र गाउँको जीवनशैलीलाई प्रस्ट्याउने यो दृश्यले कथामा ग्रामीण सौन्दर्य र सरल जीवनको प्रस्तुति हुने आभास दिन्छ। एक सामूहिक पोस्टरमा नायक-नायिकासहित अन्य पात्रहरूलाई समेत समेटिएको छ। यहाँ लोकसंस्कृति, नाचगान र हास्य–मनोरञ्जनको आभास पाइन्छ।

यो चलचित्रमा रोचक कुरा के छ भने, कार्यकारी निर्माताको रूपमा जनउत्तरदायित्वका लागि सक्रिय ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ। यस समूहको नेतृत्व धरान महानगरपालिकामा मेयर हर्क साम्पाङ रहेका छन्। चलचित्रमा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूले अभिनय रहेको छ।

चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ भने दुई प्रमुख पात्रबिचको प्रेम कथा यसको मुख्य आकर्षण रहेको छ। यो चलचित्र इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायांकन गरिएको छ।

प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको चलचित्रको छायांकन सुशन प्रजापतिले गरेका हुन्। चलचित्रलाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका छन्। चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी सह निर्माताहरू हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *