पुराना निर्देशक लक्ष्मण रिजालको निर्देशन रहने चलचित्र ‘काजी’को शुभमुहूर्त गरिएको छ । शुक्रबार दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गर्दै शुभमुहूर्त सम्पन्न गरिएको हो।
चलचित्रको शुभमुहूर्तसँगै छायांकनको लागि निर्माणपक्ष स्याङ्जा प्रस्थान गरेको छ। भोलि भदौ ८ गते आइतबारबाट चलचित्रको छयांकन सुरु गरिने छ।
करिब ८ वर्षपछि निर्देशनमा फर्किएका उनले आफुले खोजेको जस्तै स्कृप्ट पाएकाले निर्देशनमा कमव्याक गर्न तयार भएको निर्देशक रिजाल बताउँछन् । उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका चलचित्र निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए ।
सोसल लभस्टोरी जनरामा बन्ने यो चलचित्रलाई राम प्रसाद रिजालले निर्माण गर्दैछन् । चलचित्र छायांकनको लागि स्याङ्जामा लाखौं खर्च गरेर एउटा गाउँको सेट नै निर्माण गरिएको निर्माणपक्षले बताए।
आरएण्डआर प्रोडक्सनको व्यानरमा निर्माण हुने यो चलचित्रमा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । अन्य कलाकार को-को रहेका छन् भन्ने विस्तारै सार्वजनिक गर्दै जाने जानकारी निर्माण टिमले दिएको छ । प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रलाई चिन्तनराज भण्डारीले खिच्नेछन् ।