प्राइडे रिलिज : हलमा ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’

६ भदौ २०८२ ५:०१

आज शुक्रबारदेखि तीन नेपाली चलचित्र ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ प्रदर्शनमा आएका छन् । फरक विधामा आधारित रहेर निर्माण गरिएको यी तीनै चलचित्र मध्ये सबैभन्दा कम्ति शोज ‘ताराहरू’ लाई दिएको छ।

ऋषि लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘माग्ने राजा’ले देशव्यापी १४५ र ‘जनै हराएको मान्छे’ले ११५ भन्दा बढी शोज प्राप्त गर्दा ‘ताराहरू’ले भने जम्मा ३० शोज मात्र पाएको छ। जसले, व्यापारिक भविष्य भने निर्धारण गर्न सक्दैन र त्यसका लागि ‘वर्ड अफ माउथ’ नै बलियो हुनुपर्छ ।

कलाकार केदार घिमिरे (माग्ने बुढा)को मुख्य भूमिका रहेको यो चलचित्रमा उनीसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राई, सारदा गिरी लगायतको अभिनय छ । चलचित्रका निर्माता मुनाल घिमिरे हुन् । भूइँमान्छेको धनी हुने महत्त्वाकांक्षाको कथा प्रस्तुत गर्ने यो चलचित्र आर्थिक संकट, भाग्य र सत्यको कथामाथि निर्माण गरिएको हो।

हिमाल न्यौपानेको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘जनै हराएको मान्छे’मा विजय बराल प्रमुख भूमिकामा छन्। चलचित्रमा उनका साथमा केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटा, रेअर राई, भावना खपाङ्गी मगर, सुमन थापा लगायतको अभिनय रहेको छ ।

कमल न्यौपाने र विमल न्यौपानेले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्रले बाबु-छोरा र दिदी-भाइबीचको सम्बन्धको कथा भन्छ। चलचित्रले बुधबारको प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको थियो।

कलाकार आशान्त शर्माको पहिलो निर्देशकीय चलचित्र ‘ताराहरू’ हो । आशान्त स्वयंको मुख्य भूमिका रहेको यो चलचित्रमा मेनुका प्रधान, कुन्दुन शाक्य, मिरा खड्का लगायतको पनि अभिनय छ । जीवनबाट निराश भएर एक किशोरले आत्महत्या गर्ने सोच बनाउँदा उसका साथीहरुले कसरी जीवन जिउन प्रेरित गर्छन् भन्ने कथामा आधारित रहेर यो चलचित्र निर्माण गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *