जनै हराएको मान्छे: प्रिमियरमा रुचाइयो

५ भदौ २०८२ ४:५५

भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले प्रिमियरमा पुगेका अधिकांशको मन जितेको छ । बुधबार नयाँ बानेश्वर स्थित वान सिनेमाजमा आयोजना गरिएको प्रमियरमा चलचित्र हेर्न पुगेका अधिकांश व्यक्ति भावुक भएका छन् ।

प्रिमियरमा अग्रज कलाकार शुनिल थापा, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणी नेपाल, कलाकार लोकेन्द्र लेखक, नायक किरण श्रेष्ठ, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज लगायत सिनेमा क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

उपस्थित कलाकार तथा आगन्तुक दर्शकहरू पनि ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को कथासँग भावनात्मक रूपमा जोडिएका थिए । चलचित्र हेरेपछि धेरै व्यक्ति भावुक हुँदा केकी अधिकारी, अञ्जु पन्तलगायत कलाकार चलचित्र हेर्दा रोइरहेका थिए ।

यो चलचित्रले दर्शकको पनि मन छुने र आँसु बगाउन बाध्य बनाउने प्रिमियरमा चलचित्र हेर्नेहरूले प्रतिक्रिया दिएका छन् । धेरै जना आँसु पुछ्दै हलबाट बाहिरिएको देखिन्थ्यो । उनीहरूले चलचित्रले मन छोएको र आफ्नै परिवारको याद दिलाएको प्रतिक्रिया दिए ।

बुवा र आमाले छोराछोरीका लागि गर्ने सम्झौता र बुवाआमाप्रतिको जिम्मेवारी निभाउने क्रममा छोराछोरी परिबन्धमा परेर उजाडिएको जिन्दगीको कथा हेरिरहँदा आँसु थाम्न नसकेको अधिकांशको प्रतिक्रिया छ ।

चलचित्रले सम्बन्धको महत्व, सपना पूरा गर्न गरिने संघर्ष र पारिवारिक मूल्यमान्यतालाई मार्मिक ढंगले प्रस्तुत गरेको देखिन्छ, जसका कारण दर्शकहरूले यसलाई भावनात्मक रूपमा बलियो चलचित्रको रूपमा लिएका छन् ।

चलचित्रमा केकी अधिकारी, विजय बरालसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन, नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *