‘मोहर’को अहिलेसम्मको कमाई कति ?

२ भदौ २०८२ ४:४२

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मोहर’ले दोस्रो साताको आइतबारसम्म ३ करोड माथिको कमाई गरेको छ । पहिलो साताको शनिबार भन्दा दोस्रो साताको शनिबार यो चलचित्रको व्यापार अझै माथि रहेको निर्माणपक्षले बताएको हो।

गएको साउनको २३ गतेबाट रिलिजमा आएको यो चलचित्रलाई चुम्बन जंग शाहीले निर्माण गरेका हुन् । चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्र विकास बोर्डको आँकडा अनुसार, चलचित्रको व्यापार आइतबार बेलुकीसम्म ३ करोड ७ लाख भन्दा माथि छ । चलचित्रको निर्माण कम्पनीले भने आँकडा सार्वजनिक गरेको छैन । तर, चलचित्रले अब निर्माताको लगानी सुरक्षित गर्ने दौडमा छ ।

फिल्म मेकर्स प्रा.लिको व्यानरमा बनेको यो चलचित्रका मुख्य कलाकारहरू पल शाह, बेनिशा हमाल र नीति शाहले पश्चिम नेपालको दौड सकाएका छन् । धनगढी, नेपालगञ्ज, दाङ, बुटवल, चितवन र पोखरासम्मको यात्रामा उनीहरुले दर्शकको अथाह प्रेम पाएका छन् ।

पश्चिम नेपालमा निकै सुखद व्यापार गरिरहेको चलचित्रले दोस्रो सातामा पनि सुखद कमाई गर्ने पक्का देखिएको छ । यो चलचित्र चल्दा नायक पल शाह र नायिका नीति शाहलाई बढी फाइदा भएको देखिन्छ ।

पल र नीतिका पछिल्ला केही चलचित्र असफल भएपछि यी दुवै कलाकारहरुको स्टारडम र क्रेजको बारेमा विभिन्न खालका आरोह अबरोह भएको थियो । तर, अब ‘मोहर’को व्यापारले दुवैलाई सुखद अनुभुती दिएको छ । यता, बेनिशा हमालले फेरि आफ्नो अभिनयका कारण दर्शकको मन जितेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *