फिरोजले घोषणा गरे ‘कहाँ गयौ तिमी’

१ भदौ २०८२ ४:३७

फिरोज तिमलसेनाले चलचित्र ‘कहाँ गयौ तिमी…’ निर्देशनको घोषणा गरेका छन् । सहारा फिल्म्सको प्रस्तुति रहने चलचित्रको शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर टाइटलसहित निर्माण घोषणा गरिएको हो ।

लभस्टोरी जनरामा निर्माण हुने यो चलचित्रको कथा जीवन आचार्यले लेख्नेछन्। पोस्टरमा रहेको कालो बादल र एकलासमा रहेको एउटा घर र रूखले छोडिएको मायाको वरिपरि कथा रहने संकेत गरेको छ । चलचित्रमा प्रकाश नेपालीको संगीत रहनेछ ।

फिरोज टेलिभिजन होस्ट हुँदै निर्देशनमा प्रवेश गरेका सर्जक हुन् । उनले नेपाल आइडल सिजन–१ को रियालिटी प्रोडुसर तथा एपिसोड डिरेक्टरको काम गरेका थिए । भ्वाइस अफ नेपालको फाउन्डर, क्रिएटिभ हेड तथा चिफ एडीलगायत अनुभव संगालेका उनी अभिनेता पनि हुन् । ‘दर्पण छाया–२’मा उनले अभिनय गरेका थिए । फिरोज गायक पनि हुन् ।

इन्जिनियरिङलाई पेसा बनाएर उनी पछिल्लो समय अमेरिकामा बस्दै आएका छन् । उनले अब चलचित्र निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

चलचित्रको कलाकार र निर्माता बारे केहि पनि जानकारी दिइएको छैन । चलचित्रको छायांकन, प्रदर्शन र अन्य टिमबारे चाँडै जानकारी दिने निर्देशक फिरोजले बताए ।

यो चलचित्रको घोषणा गर्दै उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘शब्द र भावना भनेको घरमा काम लाग्छ भनेर जतन गरी राखेको सियो जस्तो रहेछ, चाहिने बेला कहिले फेला पर्दैन । आज सिनेमा निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गर्दा खुशी र जिम्मेवारी दुवै महसुस भएको छ । सम्पूर्ण टिमप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा फिल्मबारे थप जानकारी दिने प्रतिज्ञा गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *