निर्देशक यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’को छायांकन सकिएको छ । छायांकन सुरु गरिएको ३५ दिनमा यो चलचित्रको सम्पुर्ण छायांकन ‘प्याकअप’ भएको हो । चलचित्रमा समावेश अब एउटा गीतको मात्र छायांकन गर्न बाँकी छ।
आगामी माघ १ गतेलाई रिलिज घोषणा गरिएको यो चलचित्रको काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा छायांकन गरिएको हो। चलचित्रमा निर्देशक शेर्पाकै लेखन रहेको छ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् । चलचित्रको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
यो चलचित्रका चलचित्रका छायाकार आलोक शुक्ला हुन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।