कलाकार नाजिर हुसेनको प्रमुख भूमिका रहेको चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलरले यतिबेला सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यो चलचित्रको ट्रेलरले पाएको सकारात्मक प्रतिक्रियाका कारण अहिले निर्माणपक्ष दङ्ग परेका छन् ।
चलचित्रका निर्देशक समुद्र भट्ट भन्छिन्, ‘हामीले जस्तो अपेक्षासहित चलचित्र बनाएको थियौँ । त्यसको नजिक पुगेको ट्रेलरको प्रतिक्रियाले छनक दिइरहेको छ,’ ‘ट्रेलरजस्तै प्रतिक्रिया र माया चलचित्रबाट पायौँ भने हामी सफल हुनेछौँ । र, हामी सफलताको नजिक रहेको ट्रेलरले देखाएको छ ।’
नेपालमा दबिएर बसेको र आफ्नो आवाज बाहिर ल्याउन नसकेको समुदायको बोली यो चलचित्रले बोल्ने निर्देशक भट्टले बताइन् ।
चलचित्रलाई लिएर नाजिर हुसेन निकै आशावादी छन् । जुन गीत र ट्रेलरले आफ्नो आशा पूरा हुँदै गएको उनको भनाइ छ । दशक अगाडि ‘होस्टेल’ले रामेश्वर यादवको पहिचान दिएको भन्दै अब ‘गुन्यु चोलो’को ट्रेलरले आफूलाई नयाँ चरित्रमार्फत दर्शक माझ चिनाउने नाजिर बताउँछन् ।
भदौ १३ गते रिलिज हुने यो चलचित्रले लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथा प्रस्तुत गर्छ। महिला त आफ्नो पीडा हम्मेसी राख्न नसक्ने समाजमा तेस्रोलिंगीको अवस्था कस्तो होला । तेस्रोलिंगीले आफ्नो पहिचान दबाएर बस्नु पर्ने अवस्था छ । त्यसैले अधिकांश तेस्रोलिंगी आफ्नो पहिचानलाई भित्रै दबाएर नारकीय जीवन जिइरहेका छन् ।
घर, परिवार र समाजको डरले र आफैँ बहिस्कृत हुने त्रासले तेस्रोलिंगीहरू आफ्नो असली लिंगीय पहिचान दबाएर बसिरहेका छन् । कसरी बसिरहेका छन् त्यसको केही झलक चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलरमा देखिन्छ ।
जहाँ छोरो महिलाको नेचरको छ । तर, बाउआमा, साथी, आफन्त, छिमेकी साराले उसलाई हेय भावले हेरिरहेका छन् । छोरोको चाहाना हातभरी छन्छन् चुरा, आँखामा गाजल र सारीचोलो लगाएर बाँच्नेछ । तर, बाउ छोरोलाई लाउरे बनाउने हरदिन टर्चर दिन्छन् ।
यो चलचित्रमा नाजिरले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । चलचित्रमा नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी छन् ।
नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन, आलोक शुक्लाको डीओपि छ।