लिम्बू समुदायको लोकबाजा च्याब्रुङमा आधारित ‘जारी २’को टिजर

२७ साउन २०८२ ६:२३

आगामी असोजको ३ गतेबाट रिलिजमा आउने यो वर्षको प्रतीक्षित मानिएको चलचित्र ‘जारी २’को टिजर रिलिज भएको छ। सोमबार रिलिज गरिएको यो चलचित्रको टिजरमा लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा लिम्बु समुदायको कथा प्रस्तुत गरिएको छ । समग्रमा यो चलचित्रको टिजर दयाहाङ राईको वरिपरि घुमेको छ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले लिम्बु समुदायको कथालाई उठान गरेको बुझ्न सकिन्छ। साढे २ मिनेट लामो टिजरमा नायक दयाहाङ राई र नायिका मिरुना मगरको प्रेम र घर झगडाको कथा प्रस्तुत छ । टिजरमा, नायिका ऋचा शर्माको प्रवेशलाई पनि विशेष रुपमा हेर्न सकिन्छ ।

यसअघि पनि ‘जारी’ले लिम्बु समुदायको कथा नै उठान गरेको थियो । जसले बक्स अफिसमा १७ करोड माथिको ग्रस कलेक्शन गर्दै रेकर्ड कायम गरेको थियो।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण भएको यो चलचित्रमा दया, मिरुना, ऋचाको साथमा वुद्दि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङलेखुको अभिनय छ ।

चलचित्रका निर्माताहरु रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् । चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र राजेन्द्र मोक्तानको रंग संयोजन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *