नीता ढुंगानाले निर्देशन गर्ने चलचित्र ‘पार्वती’ मा चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’ का सरोज अधिकारीले डेब्यु गर्ने भएका छन्। यो चलचित्रमा उनी सहायक निर्देशकका रूपमा अनुबन्धित भएका हुन्।
यो चलचित्रको छायांकन असोजदेखि सुरु गरिने निर्माणपक्षले जनाएको छ। आइतबार निर्मात्री तथा निर्देशक ढुंगानासँग लिखित सम्झौता गर्दै सरोजले अभिनयभन्दा निर्देशन पक्षबाट सुरुवात गर्नुको कारण चलचित्रलाई गहिरो रूपमा बुझ्ने चाहना रहेको बताए। ‘अझै ३–४ चलचित्रमा असिस्ट गरेर सिक्न चाहन्छु,’ उनले भने।
नीता ढुंगानाको अफरपछि उनले ‘कार्टुन्ज क्रू’को नेतृत्व अस्मा विश्वकर्मालाई जिम्मा दिँदै चलचित्र क्षेत्रमा लाग्ने योजना बनाएका छन्। ‘कार्टुन्ज क्रू’ले यसअघि स्वास्थानी भर्सेस ग्याङ र द लास्ट ट्रिप जस्ता वेब सिरिज निर्माण गरिसकेको छ।
आगामी माघ १ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी रहेको यो चलचित्रको टिजर पोस्टर रिलिज भइसकेको छ। पोस्टरमा नीता ढुंगाना फिचर्ड छिन्।