नायक पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘मोहर’ले बक्स अफिसमा आक्रामकको व्यापार गरिरहेको छ। शुक्रबारदेखि रिलिजमा आएको यो चलचित्रले शुक्रबार औषत ओपनिङ गरेको भएपनि शनिबार भने आक्रामक देखियो । शनिबार बिहानीका शोजहरु औषत देखिएपनि मध्यान्हबाट चलचित्र हेर्ने दर्शकको भीड निकै बढेको थियो ।
मोफसलका हलहरुमा समेत दर्शकको उच्च चाप देखिएको यो चलचित्रको शोज अझै बढेको छ। नेपालगञ्जका हलहरुले हिन्दी चलचित्रको शोज कटौती गरेर ‘मोहर’को शोज थपेका हो। चलचित्रले पोखरा, बुटवल, चितवन, बिर्तामोड र इटहरीमा पनि सुखद व्यापार गरिरहेको छ ।
शनिबार दिनभर निर्देशक ओम प्रतीक, नायक पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाह काठमाडौंका हल पुगेका थिए । काठमाडौंको अष्ट नारायण हलमा दर्शकको भिड लागेको थियो । नायक पल शाहले दर्शकहरुलाई अभिवादन गर्दै धन्यवाद दिएका थिए । दर्शकको उच्च साथ र सकारात्मक वर्ड अफ माउथले आफूहरू उत्साहित भएको नायिकाद्धय बेनिशा हमाल र नीति शाहले बताए ।
त्यस्तै, आइतबार पनि चलचित्रले सुखद व्यापार गरिरहेको छ । काठमाडौं र मोफसलका हलमा आजको अकुपेन्सी पनि उच्च छ । वितरक करण श्रेष्ठले ‘मोहर’ले केही महिनादेखि देखिएको नेपाली चलचित्रको व्यापारीक खडेरीलाई चिरेको बताए ।
फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्रलाई चुम्बन जंग शाहीले लगानी गरेका हुन् । यसैबिच, नायक पल शाह आज पूर्वका विभिन्न हलमा दर्शक भेट्न पुगेका छन् । काठमाडौंका हलमा भने नायिकाद्धय बेनिशा हलमा र नीति शाह पुगिरहेका छन् । चलचित्रको वर्ड अफ माउथ बलियो भएको कारण आगामी दिनमा पनि दर्शकको साथ पाउने विश्वास निर्माणपक्षको छ ।