‘कोहिनूर’पछि ‘सुख दुःख’मा काम गर्दै दीपराज

२४ साउन २०८२ ६:२४

बलिउडका चर्चित अभिनेता दीपराज राणाले नेपाली चलचित्र ‘सुख दुःख’मा काम गर्ने भएका छन्। दीपराजले नेपाली चलचित्र ‘कोहिनूर’मा समेत अभिनय गरेका थिए। स्व. श्रीकृष्ण श्रेष्ठको उक्त चलचित्रमा अभिनय गरेको लामो समयपछि उनी पुनः नेपाली चलचित्रमा देखिन लागेका हुन्।

दीपराज यो चलचित्रमा काम गर्न निकै उत्साहित छन्। यो चलचित्रको कथा मन परेको कारण आफू यो चलचित्रमा काम गर्न इच्छुक भएको उनी बताउछन् । निर्माण पक्षका अनुसार, चलचित्रको कथा सुनेपछि दिपराज भावुक बनेका थिए। तर, उनको भूमिकाबारे निर्माण पक्षले खुलासा गरिसकेको छैन।

बलिउड सुपरस्टारहरु अमिताभ बच्चन, आमिर खान, सलमान खान, अजय देवगन, सैफ अली खान, रणवीर सिंहलगायत सँग काम गरिसकेका दीपराज भिलेनको भूमिकाका लागि परिचित छन् । ‘सिंघम रिटर्न्स’, ‘प्रेम रतन धन पायो’, ‘आरक्षण’, ‘दबंग ३’ जस्ता फिल्ममा उनको भूमिका प्रभावशाली थियो । उनको पछिल्लो रिलिज चलचित्र ‘मेट्रो इन दिनो’ र ‘सितारे जमिन पर’ हो ।

फागुनदेखि छायांकन सुरु हुने यो चलचित्रमा यसअघि विपना थापा, मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ अनुबन्ध भइसकेका छन्। चलचित्रलाई चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलालले खिच्ने छन्। नीता फिल्म्सको ब्यानरमा बन्ने यो चलचित्र आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *