माग्ने राजा ट्रेलर: निर्धन युवाको धनी बन्ने सपनाको कथा
२३ साउन २०८२ ९:२३
भदौ ६ गतेदेखि प्रदर्शन तयारीमा रहेको चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको छ। मुनाल घिमिरेको निर्माणमा तयार भएको यो चलचित्रको ट्रेलर बिहिबार सार्वजनिक गरिएको हो।
४ मिनेट लामो यो चलचित्रको ट्रेलर रमाइलो र मर्मस्पर्शी छ। सार्वजनिक ट्रेलरले यसको कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पारेको छ। ट्रेलरमा यसका मुख्य कलाकारहरु केदारप्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरी फिचर्ड छन्।
ऋषि लामिछानेले ८ वर्षपछि निर्देशन गरेको यो चलचित्रको ट्रेलरमा मिस पबीलाई टेलिभिजन प्रस्तोताको रुपमा र कोमल वलीलाई न्यायाधीशको रुपमा प्रस्तुत गरिएको छ। तर, समग्रमा हेर्ने हो भने ट्रेलर केदारकै वरपर घुमेको छ । केदार प्रसाद घिमिरेको प्रमुख भूमिका रहेकोयो चलचित्रको ट्रेलरमा उनी विभिन्न अवतारमा प्रस्तुत देखिएका छन्।
ट्रेलर हेर्दा चलचित्रले गाउँले निर्धन युवाको धनी बन्ने सपनाको कथा भन्छ। मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितीलाई ब्यंग्य गरेको ट्रेलरले बिना मिहेनत पैसा कमाउन नहुने सन्देश पनि प्रवाह गरेको छ।
आरआर फिल्मस्ले वितरण गर्ने यो चलचित्रमा केदारको साथमा वर्षा सिवाकोटी, आर्यन सिग्देल, विल्सन विक्रम राई लगायतका कलाकारहरूको अभिनय छ ।
सामिप्यराज तिमिल्सिनाको लेखन रहेको चलचित्रमा नरेन्द्र मैनालीको डीओपी, दीपक शर्मा र बाबुल गिरीको संगीत, रोशन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।