अशोक शर्माले निर्देशन गर्ने भनिएको चलचित्र ‘डबल ट्रिपल’को छायांकन फेरि सरेको छ । नेपाली चलचित्रका पुराना मेकर तथा डीसीएनका प्रमुख समेत रहेका शर्माले गतबर्ष नै दशैंको फूलपातीमा आउने भन्दै चलचित्रको घोषणा गरेका थिए।
तर, यो चलचित्रको छायांकन पहिले नै सरेको थियो। दशैं नजिकिदै गर्दा समेत छायांकन सुरु गर्न नसकेपछि चलचित्रलाई फागुन १ गते प्रदर्शन गर्ने बताइएको थियो। यता, फेरि चलचित्रको छायांकन सरेपछि अब, यो चलचित्र फागुनको १ मा पनि प्रदर्शन नहुने भएको हो।
यो चलचित्रको छायांकन किन सरिरहेको छ ? निर्देशक शर्माले किन अहिलेसम्म छायांकन सुरु गर्न सकेका छैनन् ? यसबारे निर्माणपक्षले केहि पनि बताएको छैन्। चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, केकी अधिकारीले काम गर्ने पहिले नै पक्का भएको थियो।
बुझिअनुसार, यो चलचित्रका मुख्य नायक दयाहाङ र खगेन्द्र अन्य चलचित्रमा व्यस्त भएपछि अशोकले भनेको समयमा काम सुरु गर्न नसकेका हुन्। यतिबेला खगेन्द्र ‘क्याप्टेन साब’को छायांकनमा व्यस्त छन् भने दयाहाङ ‘मिरमिरे’को छायांकनमा व्यस्त छन् । यसपछि, दयाले ‘कबड्डी ५’लाई समय दिनेछन्।
‘कबड्डी ५’को छायांकन सकिएपछि मात्र दयाले ‘डबल ट्रिपल’लाई समय दिनेछन्। त्यसपछि, निर्देशक शर्माले फागुन महिनाबाट आफ्नो चलचित्र ‘डबल ट्रिपल’को छायांकन सुरु गर्ने छन्।