५६ दिनमा सुशील र अञ्जनाको ‘परिवर्तन’को ‘प्याकअप’

२१ साउन २०८२ १२:१७

विजय केरुङको निर्देशनमा तयार भइरहेको चलचित्र ‘परिवर्तन’को छायाङ्कन कार्य ५६ दिनमा सम्पन्न गरिएको छ। निर्माता दीपक सिवाकोटीका अनुसार चलचित्रका दुई गीतहरू बाहेक अन्य दृश्यहरूको छायाङ्कन सोमबार सकिएको हो। अब चलचित्रमा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायाङ्कन बाँकी छ।

अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली प्रमुख भूमिका रहेको यो चलचित्रको छायाङ्कन झापाका विभिन्न स्थानहरू बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, कन्काईमाई नगरपालिका, बिर्तामोड, मेचीनगर नगरपालिका सहित पूर्वी नेपालको प्रमुख सहर विराटनगरमा गरिएको हो।

चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली प्रमुख भूमिकामा रहेका छन्। चलचित्रमा सुशील र अञ्जनाका अतिरिक्त , गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी, आएशा कार्की, सागर खरेल, राजु खरेल, कृष्ण कोइराला, सुवास खरेल, कल्पना खतिवडा, शंकर श्रेष्ठ, रोहन सेन्चुरी, यमनाथ खरेललगायत कलाकारहरूको अभिनय रहेको छ।

यसअघि अभिनेता सुशील श्रेष्ठको एक्सन फोटो बाहिरिएको थियो। एक्सन हिरोको रूपमा परिचय बनाएका श्रेष्ठको यस चलचित्रलाई विशेष प्रतीक्षा गरिएको छ।

‘दिब्यासी फिल्म्स प्रा.लि.’ को ब्यानरमा दीपक सिवाकोटीले निर्माण गरेको यस चलचित्रले नेपालको सिमाना सुरक्षा, भ्रष्टाचारको जालो, तथा गरिब, दुःखी र असहाय जनताको पीडालाई कथानकमार्फत उजागर गर्ने बताइएको छ।

निर्माता सिवाकोटीले नै चलचित्रको मूल कथा लेखेका हुन् भने यसको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका हुन्। प्रोडक्सन हेडको भूमिकामा अरुण रेग्मी छन् भने छायाङ्कन निर्देशन शिव ढकालले, सम्पादन बन्दे प्रसादको रहेको छ।

वि.सं. २०२८ मा निर्देशक हिरा सिंह खत्रीको निर्देशनमा ‘परिवर्तन’ नामक चलचित्र निर्माण भएको थियो। अब झन्डै पाँच दशकपछि सोही नाममा नयाँ कथासँगै अर्को ‘परिवर्तन’ दर्शकमाझ आउन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *