अघिल्लो वर्षको दशैंमा झैँ यो वर्षको दशैंको फूलपातीमा पनि तीन ठूला नेपाली चलचित्रहरु प्रदर्शनमा आउने भएका छन्। चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ प्रदर्शनमा आउने भएका हुन्।
गत वर्षको दशैंमा ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’को भिडन्त भएको थियो । जसमध्ये, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ले राम्रै व्यापार गरेका थिए । दर्शकले यी दुवै चलचित्रलाई अत्यधिक रुचाएका पनि थिए । तर, ‘ज्वाइँ साब’ले अपेक्षित शो पाउन सकेन।
त्यस्तै, यो पटक भने कमेडी जनरा, सामाजिक कथा र एक्सन प्रधान गरी तीनवटै विधाका चलचित्र प्रदर्शनमा आउने तयारी यसको निर्माणपक्षले गरिरहेका छन् ।
‘हरिबहादुरको जुत्ता’
कमेडी जनरामा निर्माण गरिएको यो चलचित्रमा हरिवंश आचार्य र प्रकाश सपूतको मुख्य भूमिका छ। चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ।
चलचित्रमा सरोज ओली र मोहितबंश आचार्यको लगानी छ। कृष्ण बहादुर थापाले खिचेको चलचित्रमा नकुल खड्काको सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको सङ्गीत छ ।
‘बलिदान’
एक्सन प्रधान जनरामा निर्माण गरिएको यो चलचित्रलाई सन्तोष सेनले निर्देशन गरेका हुन्। चलचित्रमा समीर भट्ट प्रमुख भूमिकामा छन्।
आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा पवन विष्टले लगानी गरेका छन्। चलचित्रका कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र प्रेम पुरी छन्।
दर्शन जीको पटकथा लेखन रहेको चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन्। चलचित्रमा पुरूषोत्तम प्रधानको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ।
‘माइतीघर’
रोहित अधिकारी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रले माइतीघरको कथालाई सामाजिक रुपमा पेस गरेछ। मिलन तामाङको निर्देशनमा तयार भएको चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र नीरज कटुवाल चलचित्रका कार्यकारी निर्माता हुन् ।
रोहित अधिकारीको प्रस्तुतिमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन रहेको यो चलचित्रले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ ।
चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजन, सङ्गीता थापा लगायतका कलाकारहरूको अभिनय छ ।