हलमा लाग्यो ‘रियाल रिङ्गेट’

१७ साउन २०८२ ४:४८

चलचित्र ‘रियाल रिङ्गेट’ आज शुक्रवारदेखि देशैभर प्रदर्शनमा आएको छ। प्रवासी नेपाली श्रमिकहरूको सङ्घर्ष, पीडा र यथार्थ कथालाई समेटिएको यो चलचित्र प्रिमियरमा रुचाइएको थियो। चलचित्रले देशभर १ सय हाराहारीमा शो प्राप्त गरेको वितरकहरूले जनाएका छन्।

प्रिमियरमा दर्शकहरूले चलचित्रको कथा, अभिनय, सङ्गीत र विशेष गरी सामाजिक सन्देशको खुलेर प्रशंसा गरेका थिए। चलचित्रलाई दर्शकले ‘लाखौँ नेपालीहरूको जिन्दगीको ऐना’ भएको प्रतिक्रिया दिएका थिए।

चलचित्रले खाडी मुलुकहरूमा रोजगारीको सिलसिलामा गएका नेपालीहरूको जीवन भोगाइलाई पर्दामा उतारेको छ। ‘रियाल रिङ्गेट’को शीर्षकमै कतार, साउदी अरेबिया र मलेसियाको मुद्रा समेटेर प्रवासी जीवनको साङ्केतिकता झल्काइएको छ।

चलचित्रको प्रमुख भूमिकामा प्रमोद चौलागाईं र निता ढुङ्गाना छन्। छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायत दर्जनौँ कलाकारहरूको पनि यसमा सशक्त अभिनय छ।

रेबेल फिल्मसको ब्यानरमा गगनलाल प्रधानले निर्माण गरेको तथा विभोर पोखरेलले निर्देशन गरेको चलचित्रका लेखक प्रदीप भारद्वाज हुन् भने, छायाङ्कन भारत, चितवन, काठमाडौं र लेटाङमा गरिएको हो। द्वन्द्व निर्देशन रोशन श्रेष्ठले, छायाङ्कन हरि घलेले, सम्पादन विपिन मल्लले, ब्याकराउण्ड स्कोर किरण तुलाधरले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *