अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने चलचित्र ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध भएकी छन्। नीता र मिथिलाबीच आइतबार कागजी सम्झौता भएको हो।
यो चलचित्रमा अभिनेत्री शर्मा अनुबन्धित गर्दै नीताले भनिन्,‘चलचित्र सुख दुःखमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौ । सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो। अब पूर्ण हुने बाटोमा जाँदैछ।’
यो चलचित्रको लागि यसअघि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भएका थिए। नीताले यो चलचित्रको मुख्य कलाकारको बारेमा केहि सातापछि जानकारी दिने बताइन्। नीताको यो डेब्यु निर्देशन हो।
‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुने यो चलचित्र आगामी वर्षको दसैं अर्थात फूलपातीमा प्रदर्शन गर्ने तयारी निर्माणपक्षको छ। निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डे रहेको यो चलचित्रको वितरण एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले पाएको छ।