चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको यो गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र उनीहरूको मनोदशा प्रस्तुत छ।
रामचन्द्र काफ्लेको स्वर, संगीत र अमर न्यौपानेको शब्द रहेको गीतले रोजगारीको सिलसिलामा बिदेसिएका युवाहरूले भोग्नुपरेको शारीरिक र मानसिक पीडा, नियन्त्रणमा परेका अवस्थाहरू, र त्यसपछिको घर–परिवारको सम्झनालाई सशक्त रूपमा उजागर गरेको छ। गीतमार्फत चलचित्रको मुख्य विषयवस्तु ‘वैदेशिक श्रम जीवनको यथार्थ चित्रण’ समेत प्रस्ट पारिएको छ।
‘रियाल रिङ्गेट’ नाम स्वयं नै प्रतीकात्मक रहेको छ। ‘रियाल’ खाडी मुलुक कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको। यी दुई मुद्राको नाम संयोजनले ती मुलुकहरूलाई इङ्गित गर्छ, जहाँ लाखौँ नेपालीहरू श्रम गर्न बाध्य छन्। चलचित्रले त्यही वास्तविकता चित्रण गर्ने प्रयास गरेको छ।
चलचित्रमा प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा छन्। साथै, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
दीप भारद्वाजको कथा, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन रहेको छ। चलचित्रको छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको हो। ‘रियाल रिङ्गेट’ लाई काफिया फिल्म्सले वितरण गर्नेछ। यही श्रावण १६ गते यो चलचित्र रिलिज हुदैछ।