काभ्रेपलाञ्चोबाट खगेन्द्र र सुरक्षाको ‘क्याप्टेन साब’को छायांकन सुरु

१२ साउन २०८२ ६:०७

असार २६ गते गौरीघाटमा शुभमुहूर्त गरिएको चलचित्र ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । शनिबार ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो । कृष्णबहादुर थापा छायाकार रहेको चलचित्रको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ ।

रामेश्वर थापाको बायोपिकमा आधारित रहने यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्न लागेका हुन् । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् । दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै चलचित्रमा यी तीनजनाको यो पहिलोपटक सहकार्य हुन लागेको हो । दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन् ।

पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् । चलचित्रको निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।

निर्देशक दीपेन्द्र के खनालकै लेखन रहेको चलचित्रमा सौगात बस्नेत मुख्य सहायक निर्देशक, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, एकी थेक्पा प्रोडक्सन डिजाइर, रोहित राज गौतम र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।

छायाकंन सुरुवात भएसँगै निर्देशक खनालले ‘क्याप्टेन साब’ एक फरक खालको सिनेमा निर्माण हुन लागिरहेको बताए । क्याप्टेन थापाको संस्मरणात्मक कृति ‘इन्टो द फायर’ (बारुदमाथि उड्दा)मा आधारित भएपनि उनको जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी लिएर पूर्ण मनोरञ्जनात्मक चलचित्र बनाइने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *