सुयोग गुरुङको निर्देशन रहेको यो वर्षकै प्रतीक्षित चलचित्र ‘जेरीः अन टप’को एकसाथ तीन वटा पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रको पोस्टर सार्वजनिक गर्दै आगामी असोज ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो।
अनन्या फिल्मस्को व्यानरमा निर्माण भएको यो चलचित्रको सार्वजनिक पोस्टरमा अनमोल, जसिता र आँचल फिचर्ड छन् । पोस्टरमा अनमोल जसिता र आँचलसँग रोमान्टिक देखिएका छन् । साथमा एक पोस्टरमा अनमोल र जसिता हिमाल चढ्दै गरेको देख्न सकिन्छ । अनमोलको गालामा हिमाल चढ्दा चिसोका कारण घाउ देखिन्छ।
सरोज न्यौपानेको प्रस्तुतिमा तयार भएको चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, उषा खड्गी र केदार घिमिरेको मुख्य भूमिका छ ।
रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको यो चलचित्रको कार्यकारी निर्मातामा अनिरुद्र गिरी र ईश्वर श्रेष्ठ, विश्वास तिमिल्सिनाको पटकथा, दिलीप रेग्मीको डीओपी, कालीप्रसाद बास्कोटा, जयन जे वाइवा र जोन चाम्लिङ राई, व्रिजेश श्रेष्ठको संगीत, अभिनाष मान नापितको भीएफएक्स, निमेष श्रेष्ठको सम्पादन छ ।
‘जेरी’ निर्माण भएको ११ वर्षपछि ‘जेरीः अन टप’ दर्शकमाझ आउन लागेको हो ।