आगामी दसैँको फूलपातीदेखि रिलिज हुने प्रतीक्षित चलचित्र ‘बलिदान’को विशाल साइजको नयाँ पोस्टर सार्वजनिक गरिएको छ। ६० फिट अग्लो र १६ फिट चौडाइको यो पोस्टर बिहीबार काठमाडौंको गोङ्गबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको हो।
सार्वजनिक गरिएको पोस्टरले चलचित्रको भाव, शैली र उद्देश्यको एक स्पष्ट चित्र प्रस्तुत गर्दै दर्शकको ध्यान खिच्न सफल भएको छ। पोस्टरमा रगतले लतपतिएका, घाइते र क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट एक विशालकाय मानव आकृतिमाथि भालाजस्तो देखिने अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन्। समीरको अनुहारमा आक्रोश, हिम्मत र बलिदानको भावना झल्किन्छ।
निर्देशक सन्तोष सेनले यो चलचित्र एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात रहेको बताएका छन्। उनका अनुसार, ‘बलिदान’ विदेशी चलचित्रहरूको भीडमा पनि आत्मबल, गहिरो कथावस्तु र प्रस्तुतीकरणको निखारले फरक पहिचान कायम गर्ने तयारीमा छ। उनले चलचित्रलाई गाउँ–सहर, टोल–बस्ती हुँदै हरेक दर्शकको मनसम्म पुर्याउने लक्ष्य लिएको उल्लेख गर्दै ‘बलिदान ब्यानर’ मार्फत देशव्यापी प्रचार–प्रसार यात्रा सुरु गरिएको जनाए।
यसअघि सार्वजनिक गरिएको पोस्टरमा अभिनेता सौगात मल्ल एक सशक्त र रहस्यमय अवतारमा प्रस्तुत भएका थिए।
‘आसुसेन फिल्म्स् प्रा.लि.’को प्रस्तुति रहेको ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, कविता रायसँगै अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन्।