आगामी फागुनको १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘कल्ली’लाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी गरिएको छ । निर्माणपक्षका अनुसार, यो चलचित्र नेपाल, भारत र पाकिस्तान लगायतका देशमा एकसाथ प्रदर्शनमा आउनेछ।
निर्माता किरण नेपालीले निर्माण गरेको यो चलचित्रलाई नेपालमा नेपाली भाषामा रिलिज गरिने छ। त्यस्तै, भारत र पाकिस्तानमा भने हिन्दी भाषामा रिलिज गरिने निर्माणपक्षले जनाएको छ।
लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको अहिले पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तूरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा महेश दवाडीको लेखन छ ।
लोभको कथामा निर्माण गरिएको यो चलचित्रले लोभ पलाएपछि मानिसको जिन्दगी कहाँबाट कहाँ पुग्छ भन्ने कथालाई पेश गर्छ। आशिष अविरल, सरिता राई र केतन क्षेत्रीको संगीत रहेको यो चलचित्रमा सौगात मल्ल, उत्तम प्रधान, वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतका कलाकारहरूको अभिनय छ ।
भारतमा एम.के फिल्म डिस्ट्रीब्युशन, पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरण गर्नेछ यो चलचित्रलाई नेपालमा भने फिल्मको वितरण काफिया र कुबेर फिल्मस्ले गर्नेछन् ।