माओत्से गुरुङको निर्देशन रहने चलचित्र ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । माओत्से र दयाको यो दोस्रो सहकार्य हो । यसअघि कलाकार माओत्से गुरुङको डेव्यु निर्देशकिय चलचित्र ‘दयारानी’मा दयाहाङ नै मुख्य भूमिकामा थिए ।
दोस्रो सहकार्यलाई अझै परिस्कृत ढंगले अगाडी बढाउनुका साथै अर्को एउटा उत्कृष्ट चलचित्र दर्शकलाई पस्किने प्रयास रहने निर्देशक गुरुङ बताउँछन् । कार्तिक तेस्रो साताबाट फ्लो्रमा जाने चलचित्रको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि सिनेमाले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । दयाहाङ बाहेक चलचित्रमा अन्य कलाकार कोको रहने भन्ने चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले बताए । चलचित्रको सम्पुर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ । सुशन प्रजापनिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु हुन् ।
माओत्सेले यसअघि गुरुङ भाषाका चलचित्र निर्देशन गर्दै आएका थिए । माओत्से कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन् ।