आगामी मंसिरको १२ गतेबाट चलचित्र ‘हर्ष’ प्रदर्शनमा आउने भएको छ । सोमबार यसको निर्माणपक्षले चलचित्रको टाइटल भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो।
निर्देशक एकता पौडेलले टाइटल भिडियोको सुरुवातमा नै यो चलचित्र स्वर्गीय शिव रेग्मीप्रति समर्पित रहेको बताइन् । शिव रेग्मी एकताका मामा हुन् । यो चलचित्रको छायांकन चितवनमा गरिएको छ । हाल चलचित्रको धमाधम पोष्ट प्रोडक्सनको काम चलिरहेको छ ।
अष्ट लक्ष्मी प्रोडक्सन र ई–प्राइम मुभिजको व्यानरमा निर्माण भएको यो चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेन प्रधान, सुवर्ण थापा, श्रृष्टी महर्जन तथा संगीता नापितको अभिनय छ ।
प्रसन्न पौडेल र विकास पौडेलको लगानी रहेको चलचित्रमा निर्देशक पौडेलकै कथा छ । चलचित्रले पारिवारिक र सामाजिक कथालाई प्रस्तुत गर्नेछ । चलचित्रमा आलोक शुक्लाको छायांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिस कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, सुनील क्षेत्री र निर्देशक पौडेलकै कोरियोग्राफी छ । चलचित्रमा हिक्मत चोखल कार्यकारी निर्माताको रुपमा छन् ।