परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘महाराजधिराज’बाट नायक पल शाह बाहिरिएका छन्। पलले आफ्नै व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘यानीमाया’लाई मुख्यकारण बताउदै यो चलचित्रबाट बाहिरिएको बताए।
नायक पलले केही महिना अगाडि छत्रेश्वरी म्यानेजमेन्टसँग चलचित्र ‘महाराजधिराज’का लागि संझौता गरेका थिए । तर, आजबाट सहमतीमै संझौता अन्त्य गरिएको पलले बताएका छन् ।
यता, छत्रेश्वरी म्यानेजमेन्टले जारी गरेको विज्ञप्तीमा पनि पलसँग सहमतीमै संझौताबाट अलग भएको बताएको छ । विज्ञप्तीमा आजका मितिबाट यो विषयमा कसैले पनि नबोल्ने, तेस्रो पक्षबाट आउने विभिन्न प्रश्नको जवाफ दुवै पक्षले नदिने उल्लेख गरिएको छ ।
विराज विष्ट प्रस्तुतकर्ता रहेको यो चलचित्रमा रमेश उप्रेती, आर्यन सिग्देल, वर्षा राउत, वर्षा सिवाकोटी, पुष्प खड्का, जयकिशन वस्नेत लगायतका कलाकारहरु फाइनल भइसकेका छन् ।
त्यस्तै, नायक पल शाहले चलचित्र ‘यानीमाया’लाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए। असारको पहिलो साताबाट करिब २ महिनाको सेड्यूलमा छायांकनमा जान लागेको ‘महाराजधिराज’ र साउनको पहिलो साताबाट छायांकनमा जान लागेको पलको आफ्नै चलचित्र ‘यानीमाया’को सेड्यूल जुधेपछि ‘महाराजधिराज’ छाडेको जनाए।