यम शेर्पाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘मिरमिरे’मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्। यो चलचित्रको लागि निर्माणपक्षले यसअघि नै नायक दयाहाङ राई फाइनल गरिसकेको छ।
दयापछि चलचित्रको लागि प्रकाश फाइनल भएका हुन्। यो चलचित्र मार्फत प्रकाश र दयाले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । प्रकाश हाल ‘माइतीघर’को छायांकनमा व्यस्त छन्।
यो चलचित्रको छायांकन केही समयमै सुरु हुनेछ । यमले अन्य कलाकारहरूसँग पनि कुराकानी जारी रहेको र चाँडै नै जानकारी दिने बताए । फिल्म ‘कार्साङ्ग’पछि दोस्रो फिल्म निर्देशन गर्न लागेका यमले निर्माणमा कुनै संझौता नगर्ने बताए ।
नायक सपुतले यो चलचित्रमा आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेकोले काम गर्न उत्साहित रहेको बताए । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको यो चलचित्रका सह–निर्माता गोविन्द बोहरा र ईश्वर श्रेष्ठ, कार्यकारी निर्माता रोहित कट्टेल हुन् ।
यार्सा फिल्मस्को प्रस्तुति रहने यो चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । यमकै कथा रहेको यो चलचित्रलाई यही वर्ष नै रिलिज गर्ने तयारी निर्माताको छ ।